लगनखेल दुर्गन्धित १० दिनदेखि फोहोर उठेन

२०७१ भाद्र ११ गते, बुधबार


काठमाडौं, ११भदौं ।ललितपुर उपमहानगरले लगनखेल बसपार्कमा थुपि्रएको फोहोर १० दिन भइसक्दा पनि उठाउने चासो देखाएको छैन। फोहोरमा फालिएका मरेका जनावर कुहिएपछि वरिपरि दुर्गन्ध फैलिएको छ। वरपर व्यवसाय गर्ने, सर्वसाधारणले फोहोर नउठाएको भन्दै विरोध गरेका छन्।
दुर्गन्धले ५ वषीया छोरी बिरामी परेको बसपार्कमा व्यापार गर्दै आएका दोलखाका राम थापामगरले बताए। दुर्गन्धलेे झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिन सक्ने चिकित्सकहरू बताउँछन्। फोहोरको डंगुरले बस रोक्न समेत समस्या भएको चालकहरूले बताए। फोहोर थुपि्रएको स्थान छेवैमा बुङमती, खोकना, चुनिखेल, छम्पी चल्ने गाडी पार्किङ हुँदै आएको छ। यातायातकर्मीहरू उक्त रुटमा चल्ने गाडी अर्को रुटमा राख्न बाध्य छन्। बुङमतीका चालकले अरूको रुटमा गाडी रोक्दा चालकहरूबीच विवाद समेत भएको बताए। दुर्गन्धले तीजमा किनमेल गर्न आउनेहरूसमेत मर्कामा छन्। फुटपाथमा पसल थाप्ने सुर्खेतका रमा तामाङले दुर्गन्धले व्यापार घटेर घरपरिवार पाल्न नसक्ने स्थितिमा पुगेको बताए। ‘दैनिक २/३ सयको समेत व्यापार हुन गाह्रो छ,’ उनले भने, ‘अरू स्थानमा भन्दा यहाँ पटक-पटक यस्तो समस्या हुने गरेको छ।’ उनी जस्तै थुप्रै फुटपाथ व्यवसायी दुर्गन्ध सहेर व्यापार गर्न बाध्य छन्।
लगनखेल वरिपरि सफा गर्ने जिम्मेवारी पाएका रामबहादुर देउलाले उपमहानगरपालिकाले गाडी नपठाएकाले समस्या भएको बताए। ‘गाडी भए लोडसम्म गर्नेछौं,’ उनले भने। करुणा टोल सुघार समितिका अध्यक्ष धु्रुव खड्काले ४/५ पटक उजुरी दिँदा समेत उपमहानगरले बेवास्ता गरेको आरोप लगाए। ‘फोहोर उठाउन पटक-पटक आग्रह गर्दा नटेरेपछि निवेदन समेत दर्ता गराएका छौं। हामी जाँदा सफा गर्ने आश्वासन मात्र दिने गरेका छन्,’ उनले भने।
ललितपुर उपमहानगरपालिका, वातावरण शाखाका प्रमुख प्रदीप अमात्यले एउटा गाडी दुर्घटनामा परेर बिगि्रएपछि फोहोर उठाउन ढिला भइरहेको बताए। ‘अरू चारवटा गाडीले अन्य ठाउँको फोहोर संकलन गर्नमै ठिक्क छ,’ उनले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु