होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा १०२ पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनले भने, “फागुपूर्णिमाका दिन नियमविपरीत काम गर्नेहरूलाई नियन्त्रणमा लिएका थियौँ, अवस्था हेरेर १०५ जनालाई गएराति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ ।”
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपांग्रे सात वटा सवारी साधन नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागु गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

प्रतिक्रियाहरु