पाइप र ढलले साँगा-धुलिखेल सडक विस्तारमा कठिनाइ

२०८० चैत्र १२ गते, सोमबार

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ ।
सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको हो
सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव ५ किमी रहेको छ ।
विशेषगरी बनेपा नगरको मुख्यबजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायाँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले जानकारी दिए ।
धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए । धुलिखेलमा खानेपानीको व्यवस्थापनमा १ करोड तथा ढल व्यवस्थापनमा ४ करोड खर्च हुने अनुमान गरिएको छ ।
सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ । आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।
आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्त्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।
पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको सम्झौता भएको इन्जिनियर खनालले बताए ।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।
तीन वर्षमा सक्नेगरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार १६ फागुन २०७९ देखि साँगाबाट निर्माण थालिएको थियो । – रासस

प्रतिक्रियाहरु