१५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

२०८० फाल्गुन १९ गते, शनिबार


काठमाडौँ । ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले फुङ्लिङमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरेको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।
शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको छ ।
मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताए । उनका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो ।
शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिए । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु