चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण

२०८० माघ २० गते, शनिबार


काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । सन् २०२२ मा चीनमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि चिनियाँ सरकारले शून्य कोभिड नीति अपनाएका कारण चीनको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको थियो । तर सन् २०२३ मा चीनले शून्य कोभिड नीति हटाएसँगै आन्तरिक मागमा भएको वृद्धि तथा सरकारले उद्योग क्षेत्रलाई दिएको सहुलियतका कारण आर्थिक वृद्धि भएको थियो ।
पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा देखिएको संकट र अमेरिका र युरोपले चीनबाट बिक्री हुने सेमी कन्डक्टर तथा अन्य विद्युतीय सामाग्रीमा कडाइ गरेसँगै बाह्य माग घटेको छ भने अर्थतन्त्रमा एक तिहाइ योगदान गरेको रियल स्टेट क्षेत्र धराशायी हुँदा निर्माण क्षेत्र सुस्ताएको छ । जसकारण सन् २०२४ मा चीनको आर्थिक वृद्धि ४.६ प्रतिशतमा खुम्चिने आइएमएफको प्रक्षेपण छ ।
यस्तै चीनमा वृद्ध जनसङ्ख्या बढ्दै गएको छ । कुल जनसङ्ख्याको २१.१ प्रतिशत जनसङ्ख्या वृद्ध हुँदै छन् । जसकारण सन् २०२८ सम्म चीनको वृद्धि दर खुम्चिँदै जाने छ । सन् २०२५ मा चीनको वृद्धि दर ४ प्रतिशत रहने, २०२६ मा ३.८ प्रतिशत, २०२६ मा ३.८ प्रतिशत, २०२७मा ३.६ प्रतिशत र सन् २०२८ माआर्थिक वृद्धि दर खुम्चिएर ३.४ प्रतिशत रहने आइएमएफको अनुमान छ ।
चीनमा देखिएको रियल स्टेटको समस्या समाधानका लागि समष्टिगत आर्थिक नीतिमा सुधार ल्याउनु पर्ने र स्थानीय सरकारको बढ्दो सार्वजनिक ऋण घटाउन आइएमएफले सुझाएको छ । यस्तै कार्यकारिणी समितिले चीनमा प्रगतिशील कर सुधार कार्यक्रम र सार्वजनिक वित्तीय व्यवस्था सुधारको आवश्यकता रहेको औँल्याएको छ । साथै सम्पत्ति शुद्धीकरण र आंतकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नीतिलाई सुदृढ गरेर अगाडि बढ्न सुझाव दिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु