प्रधानमन्त्री कप राष्ट्रिय भलिबल असार २३ गतेदेखि

२०८० असार ११ गते, सोमबार

काठमाडौं । नेपाल भलिबल संघले सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने जनाएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् । जस अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ. क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृती – प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता हुनेछन् । त्यस्तै महिलातर्फ नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले लिग आगामी वर्षदेखि वार्षिक कार्यक्रम अन्तर्गत नै चल्ने बताए । उनले उपत्यका बाहिरबाट आउन लागेका टिमहरुलाई एक लाख उपलब्ध गराउने जानकारी दिए । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्ने संघले जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च करिव ७५ लाख रहेको संघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु