रेशम चौधरीलाई तत्काल शपथ गराउन माग

२०७४ चैत्र २२ गते, बिहीबार

काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको बैठकले कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । बैठकले पार्टी संसदीय दलको विधानको मस्यौदा निर्माण गर्न सांसद लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।
यस्तै, बैठकले संसदीय दल सन्चालनका लागि प्रत्येक सांसदबाट मासिक १० हजार रुपैयाँ ‘लेवी’ उठाउने निर्णय गरेको अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । बैठकमा संसदीय दलको नेता चयन, विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र संसदमा दलको भूमिकालगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रियाहरु