‘दुई नेताकोमात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन ‘

२०७४ फाल्गुन २ गते, बुधबार

काठमाडौं, २ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनलेमात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए । उनले भने–‘दुई नेताको व्यवस्थापनलेमात्रै हुँदैन । पहिला पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सन्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।’ पार्टी एकतामा देखिएका बाधालाई छिटोभन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए । उनले भने–‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छ ।’ पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए । एक फरक प्रसंगमा बोल्दै उनले भने–‘कामचलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउनेछ ।’- रासस

प्रतिक्रियाहरु