प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्ने

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् ।पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक सौन्दर्यले युक्त पोखरामा शान्ति सुरक्षाको प्रत्याभूति भएमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कास्कीका प्रजिअ तारानाथ अधिकारीले शान्ति सुरक्षामा देखिएका चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजानुपर्ने औँल्याए ।
प्रदेश नं ४ कार्यालय पोखराका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बलले मुलुकमा भएको १० वर्षे जनयुद्ध र भूकम्पका कारण प्रहरी कार्यालयका भौतिक संरचना ध्वस्त भए पनि प्रहरीले जनताको सेवामा समर्पित हुँदै आएको जानकारी दिए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पुष्पचन्द्र रञ्जितले नवनिर्मित भवनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचना निर्माणले प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुग्ने बताए । – रासस

प्रतिक्रियाहरु