रुकुमकोटबासीद्वारा आमहडतालको आह्वान

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । रुकुमकोटबासीले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारी निर्णयविरुद्ध पुन: आन्दोलन थालेका छन् । सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । रुकुमकोट र सदरमुकामबासीले आमहडतालको आह्वान गरेका हुन् । प्रदर्शनकारीले सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै निर्णय सच्याउन माग गरेका छन् । जिल्लाका सबै सरकारी कार्यालय तथा यातायात, शैक्षिक सस्ंथालगायतका सेवा ठप्प पारिएको छ ।
सर्वोच्च अदालतले सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउँदै आज दुबै पक्षलाई सर्वोच्चमा बोलाएको छ । रुकुमका सरोकारवाला निकायले भने सरकारले सदरमुकाम सार्ने निर्णय गरेर रुकुम पूर्वका जनतालाई मूठभेडमा उतार्न खोजेको आरोप लगाएका छन् । वर्तमान सरकारले नै पहिले रुकुमकोटलाई सदरमुकाम घोषणा गरेर पछि फेरि अर्को ठाउँमा सदरमुकाम सार्नु जनता लडाउनु खेल मात्र भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रियाहरु