लालु यादवलाई अर्को मुद्दामा पाँच वर्षको जेल सजाय

२०७४ माघ १० गते, बुधबार

काठमाडौं, १० माघ। भारत, विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पशुपक्षीको दाना घोटालासम्बन्धी अर्को मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । बुधबार राँचीस्थित सीबीआइको विशेष अदालतले ‘चाइबासा कोषागार’सँग जोडिएको ३३ करोड ६७ लाखभन्दा बढी भारतीय रुपैयाँको नक्कली बिल बनाएर रकम निकासा दिएको मुद्दामा लालुविरुद्ध यो सजाय सुनाएको हो । यो घोटाला २१ वर्ष पुराना हो ।
राष्ट्रिय जनता दलका अध्यक्ष रहेका लालुसँगै उक्त कान्डमा जोडिएका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रलाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ । गत जनवरी १० मा मुद्दाको सुनुवाइ सकिएको थियो । सीबीआइले ७६ जनाविरुद्ध मुद्दा दर्ता गरेपनि सुनुवाइकैक्रममा १४ जनाको मृत्यु भइसकेको छ ।
यसअघि, जनवरी ६ मा चारा घोटालाकान्डमा दोषी पाइएपछि लालुलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो । यस मुद्दामा दोषी पाइएका लालुलाई हाल बिरसा मुन्डा केन्द्रीय कारागारमा राखिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु