सडक दुर्घटनाका पीडितलाई आर्थिक सहयोग

२०७४ आश्विन २२ गते, आईतवार

काठमाडौ, २२ असोज । रोजगारीका लागि कतारमा गएका बागलुङका एक पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । गम्भीर घाइते गल्कोट–६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ ‘गल्कोट समाज जापान’ले पाँच लाख २० हजार ४२१ जापानी यान उपलब्ध गराएको हो ।
उक्त समाजले जापानमा शुरु गरेको सहयोग अभियानअन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनुभयोे ।
रोजगारीका लागि कतार गएका विश्वकर्माको सडक दुर्घटनामा परी अचेत अवस्थामा स्वदेशमै ल्याएर काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
कमाउने मूल व्यक्ति विगत छ वर्षदेखि अचेत भएको र पारिवारिक अवस्था कमजोर भएको समाचार मूलधारका पत्रपत्रिकामा प्रकाशित भएपछि उक्त समाजले जापानको टोकियो, ओशाका, नागोयालगायतका स्थानमा सहयोगका लागि अभियान चलाएर दुईसातासम्म रकम संकलन गरेको थियो । विश्वकर्माको परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी छन् ।
यसअघि पनि जापानवासी नेपालीले रकम अभावमा उपचारमा समस्या भोगिरहेका मिर्गौलापीडित गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भुसाललाई सहयोग उपलब्ध गराएका थिए । गुरुङलाई तीन लाख ७८ हजार ९०५ र भुसालको उपचारका लागि एक लाख ३८ हजार ७४५ जापानी यान सहयोग गरिएको थियो ।- रासस

प्रतिक्रियाहरु