पाँचतले भवन भत्कँदा १७ को मृत्यु

२०७४ श्रावण ११ गते, बुधबार

काठमाडौ, ११ साउन । भारतको एक ठूलो सहर मुम्बईको उत्तरतर्फ मंगलबार भत्किएको एक पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेको बताएका छन् । मुम्बईको विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भने–‘१७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जीवितै उद्वार गरी निकालिएको छ ।’ भत्किएको घरको भग्नावशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । उक्त घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको अनुमानका आधारमा मंगलबार बिहान सो दुर्घटना भएदेखि नै उद्वारकार्य तीव्र बनाइएको थियो ।उनीहरूको उद्वारका लागि आवश्यक प्रयास जारी राखिएको प्रकोप व्यवस्थापन विभाग मुम्बईले बताउँदै आएको छ । मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलकाअनुसार यस दुर्घटनाको उद्वारकार्य मंगलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जीवितै उद्वारको आशमा उद्वारकर्मीहरु निकै खटेका थिए ।
भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ । भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउनेक्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेको बताएका छन् । भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मासमेत भवन भत्किएर ७० जनाभन्दा बढीको ज्यान गएको थियो । सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भएपनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु