चीनद्वारा भारतलाई चेतावानी

२०७४ श्रावण ९ गते, सोमबार

काठमाडौं, ९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ । तर चीनले उक्त क्षेत्रमा जारी रहेको निर्माणको कार्य भने रोकेको छैन । निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लङ्घन गरेको जनाएको छ ।
चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ । उहाँले सो पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिनुभयो । तर के कति सङ्ख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने सङ्ख्या भने उहाँले दिनुभएन ।
उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि विवाद उत्पन्न भइरहेको छ । भारतीय पक्षले यस चिनियाँ भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन । रासस-एएफपी

प्रतिक्रियाहरु