उपत्यकामा हर्न बजाउन नपाइने

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं, १ बैशाख । सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा सवारी साधनको हर्न बजाउन नपाइने भएको छ । सवारी साधन चलाउँदा जथाभावी हर्न बजाएर अत्यधिक ध्वनि प्रदूषण भएको भन्दै हर्न निषेध गरिएको हो । वैशाख १ गतेबाट लागू गरिएको हर्न निषेध कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखा सक्रिय भएका छन् ।
जथाभावी हर्न बजाउँदा अत्यधिक ध्वनि प्रदूषण भई पैदलयात्री, पसल, अस्पताल, विद्यालय र यात्रा गरिरहेका यात्रीलाई समेत असर गरिरहेको भन्दै हर्न निषेध गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार अत्यावश्यक अवस्था र घुम्तीहरूमा बाहेक हर्न बजाउन निषेध गरिएको छ ।
हर्न निषेध गरिएपछि महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सूचना जारी गरेको छ । हर्न निषेध कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले दैनिक अनुगमन टोली निर्माण गरेको छ । विभागका अनुसार वैशाख १ गतेदेखि अनुगमन टोली सडकमा हुनेछ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भन्नुभयो, “हर्न निषेध वैशाख १ गतेदेखि कार्यान्वयन हुन्छ, त्यसका लािग हामीले अनुगमन टोली निर्माण गरेका छौँ, विभागका निर्देशक तुलसीराम अर्यालको संयोजकत्वमा नियमित अनुगमन हुन्छ । ”
हर्न निषेध गरिए पनि घुम्टीहरू र अप्ठेरो अवस्थामा भने हर्न बजाउन पाइनेछ । दमकल, एम्बुलेन्स र भीआईपी सवारीलाई भने हर्न तथा साइरन बजाउन निषेध गरिएको छैन । विभागका अनुसार मानव स्वास्थ्यका लागि ६५ डेसिवलसम्मको आवाज आउने हर्नहरू उपयुक्त मानिन्छ तर १२० डेसिवल आवाजसम्मका हर्नहरू प्रयोग गरिएको छ ।
जथाभावी हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १ सय ६४ ‘ग’ अनुसार कारबाही गरिने भएको छ । जसअनुसार कसैले हर्न बजाएमा पहिलो पटकलाई ५ सय, दोस्रो पटकलाई १ हजार र तेस्रो पटकलाई एक हजार ५ सय रुपियाँ जरिवाना गरिने विभागले जनाएको छ ।

प्रतिक्रियाहरु