प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

२०७३ चैत्र ११ गते, शुक्रबार

काठमाडौं, ११ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेका थिए । उनले सो अवसरमा सम्मानगारतको निरीक्षणसमेत गरे ।
यसअघि, जनरल चाङ सैनिकमञ्च टुँडिखेल गइ त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरे । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबारै दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री खाँणसँग बिहीबार भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले नेपाल र नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता हुने विश्वास दिलाएका थिए । चीन र नेपालबीच ‘नङ र मासु’कोजस्तै सम्बन्ध रहेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमासमेत यसले राम्रो प्रभाव पारेको जनाउँदै चाङले नेपालले एकचीन नीतिअन्तर्गत् उत्तरी सीमा सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरेको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग बढाउने तत्परता चिनियाँ पक्षबाट व्यक्त भएको थियो । ‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहान्छौं, हामी नेपालको हित चाहान्छौं, नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव रहेको’ कुरा रक्षामन्त्री चाङले सो अवसरमा उल्लेख गरेका थिए । – रासस

प्रतिक्रियाहरु