२०० वकिलद्वारा सामूहिक राजीनामा

२०७३ माघ २७ गते, बिहीबार

काठमाडौं, २७ माघ । न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका छन् । न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।
नेपाल बारको कार्यसमितिमा रहेका २ नम्बर प्रदेशका सबै र अरु इच्छुकसमेतले सामूहिक राजीनामा बुझाएका बताइएको छ । न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी सिद्धान्तविपरीत रहेको गुनासो उनीहरुले गरेका छन् ।
यसअघि, नेपाल बारको नेतृत्वले पनि न्यायपरिषद्ले गरेको निर्णय अन्यायपूर्ण भएको भन्दै बेन्चविरुद्ध आन्दोलन नै घोषणा गरेको थियो । सर्वोच्च अदालत र नेपाल बारका प्रतिनिधि सम्मिलित समितिले बीचको बाटो खोज्दै विवाद समाधान गरेको थियो । आन्दोलनकैक्रममा बारले सर्वोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै ती वकिलले राजीनामा दिएका हुन् । बार र बेन्चबीच भएको उक्त सहमति अस्वीकार्य रहेको पनि उनीहरुले बताए ।

प्रतिक्रियाहरु