‘महाभियोग प्रस्तावमा लोकमानविरुद्ध लगाइएका अधिकांश आरोप पुष्टि’

२०७३ माघ २६ गते, बुधबार

काठमाडौं, २६ माघ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ । व्यवस्थापिका–संसदको महाभियोग सिफारिस समितिअन्तर्गत् गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए । सर्वाेच्च अदालतबाट कार्की अयोग्य ठहर भइ पदमुक्तसमेत भइसकेको हुँदा महाभियोग प्रस्तावमा उल्लिखित विषयलाई छोडेर उपसमितिले पदीय दुरुपयोगका बारेमामात्र अनुसन्धान गरेको थियो । उपसमितिले १५ दिन लगाएर कार्कीविरुद्धको प्रस्तावमा लगाइएका आरोपहरुमाथि छानबिन गरेको हो । उपसमितिले तयार गरेको प्रतिवेदन समितिको विहीबार (भोलि)को पूर्ण बैठकमा प्रस्तुत् हुनेछ । उपसमितिले महाभियोग प्रस्तावमा काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलमा भएको हस्तक्षेपलगायतका विषयमा लगाइएको आरोप पुष्टि भएकाले संसदले प्रचलित कानुनबमोजिम सम्बन्धित निकायलाई थप छानबिन गरी कारबाही गर्न निर्देशन दिनसक्ने सांसद भण्डारीले जानकारी दिए ।
व्यवस्थापिका–संसदका १५७ जना सांसदको हस्ताक्षरसहित गत कात्तिक ७ गते दर्ता गराइएको महाभियोग प्रस्तावमा संविधान र कानुनको उल्लंघन, पदीय दुरुपयोग, कर्तव्य बिमुख तथा आचारसंहिताको उल्लंघनको आरोप लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट पदमुक्त भएपनि महाभियोगको प्रस्ताव दर्ता गराउने पक्षले प्रस्ताव फिर्ता नलिएको अवस्था विद्यमान रहेका कारण समितिले प्रतिवेदन पारित गरेर व्यवस्थापिका–संसदको पूर्ण बैठकमा पठाउन चाहेको हो । उपसमितिले तयार गरेको प्रस्तावकाबारेमा विहीबार बस्ने समितिको बैठकमा छलफल भइ परिमार्जनपछिमात्र संसदमा पठाइने बताइएको छ । संसदले उक्त विषयबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण वा निर्देशन गर्न नचाहेमा संसदको सम्पत्तिकारुपमा प्रतिवेदन सुरक्षित रहनेछ । – रासस

प्रतिक्रियाहरु