मान्छे मारेपछि पन्छिने दाउमा चितवन मेडिकल कलेज

२०७३ मंसिर २४ गते, शुक्रबार

काठमाडौँ, २४ मंसिर । चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा डाक्टरको लापरवाहीका कारण यही सोमबार दिउँसो मृत्यु भएकी सुनिता गुरुङको परिवारले अझै न्याय पाउन सकेको छैन । सुत्केरी व्यथा लागेपछि सोही अस्पतालमा नियमित डाक्टरी जाँच गराइरहेकी गर्भवती सुनिता भर्ना भएकी थिइन ।
डाक्टर जीवनदाता हुन् तर यस अस्पतालमा यसअघि पनि ११ जनाले डाक्टरकै लापरवाहीकै कारण ज्यान गुमाइसकेका छन् । आफू त्यही लापरवाहीको १२ औँ सिकार भइन्छ भन्ने थाहा पाएको भए सुनिता अवश्य नै अरू नै अस्पताल जाने थिइन् । बिडम्बना बिहान सद्दे अस्पताल पुगेकी सुनिताले मध्याह्न १२ बजे संसारबाट बिदा माग्नुपरेको छ, त्यही पनि जीवनदाताकै कारण ।
अस्पताल स्रोतका अनुसार सुनितालाई छारेरोग जस्तै एक्लामेसिया रोग लागेको भन्ने दाबी छ । प्राप्त प्रमाण र परिवार स्रोतको भनाइअनुसार सुनितालाई यसअघि त्यस्तो रोग नलागेको, वंशमा पनि कसैलाई पनि त्यस्तो रोग नभएको र यो रोग तुरुन्तै उत्पन्न भयो भन्नु अस्पतालको पन्छने बाटोबाहेक अरू केही पनि होइन ।
“हाम्रा बोलिदिने मान्छे कोही पनि छैनन् । पत्रकारले भनेको जनताले विश्वास गर्ने र प्रहरीले भनेको सरकारले विश्वास गर्ने भएकै कारण अस्पतालले हाम्रो आवाज सीमित पत्रकार र प्रहरी हातमा लिई मत्थर पार्न खोज्दै छ” मृतकका देवर सोमानसिंह गुरुङको भनाइ थियो । साथै उनले भने, “मर्यादित र निष्पक्ष भएर न्यायप्रेमी पत्रकार र प्रहरीले सहयोग गर्नुहुने छ भन्ने हामीले विश्वास लिएका छौँ । चितवन मेडिकल कलेजले शक्ति र पैसाकै भरमा सूचना र यथार्थलाई तोडमोड गर्ने प्रयास गर्दै छ ।” परिवार स्रोतले डलिभरीपूर्वका सम्पूर्ण रिपोर्ट हेर्न प्रहरी र पत्रकारलाई अनुरोधसमेत गरेको छ ।
प्रसूति व्यथा लागेकी भरतपुर–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको चितवन मेडिकल कलेजमा गत सोमबार मृत्यु भएको थियो । बुधबार दिउँसो आक्रोसित भीडले अस्पतालको मुख्यद्वारको सीसा तोडफोड गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठका अनुसार तोडफोडका क्रममा भीड नियन्त्रण गर्न पुगेका प्रहरी टोलीमाथि नै ढुंगा प्रहार हुँदा तीनजना प्रहरीसमेत घाइते भएका छन् । श्रेष्ठका अनुसार सर्वसाधारणतर्फ पनि ३ जना घाइते भएका छन् । प्रहरीले बिरामी कुरुवा अर्का एकजना पनि घाइते भएको जनाएको छ ।
मृतककी बहिनी गौरी गुरुङले नर्मल डेलिभरी हुन्छ भनिएकी दिदीको डाक्टरको लापरवाहीकै कारण मृत्यु भएको भन्दै थपिन् “दिदीको अवस्था सामान्य थियो, डाक्टरको लापरवाहीले मृत्यु भयो ।”
मृतक सुनिताको गर्भको बच्चासमेतको मृत्यु भएको छ । मृतकका आफन्तले शव नबुझी लापरवाही गर्ने चिकित्सकलाई कारवाही र क्षतिपूर्तिको माग राख्दै अस्पतालमा आन्दोलन तथा घेरा उगर्दै आएका छन् ।
यही क्रममा बुधबार अस्पताल तोडफोडसमेत भएको छ । प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा राखेको डिएसपी श्रेष्ठले बताए । अस्पतालमा तोडफोड र प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए । – अशोक कुँवर/ राजु मियाँ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु