पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरियो

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं , २२ मंसिर । पाँच नम्बर प्रदेशमा आन्दोलनको स्वरुप फेरिएको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलित रुपन्देहीवासीले तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् । उनीहरुले २६ गतेसम्मका लागि बन्द हड्ताल जस्ता कार्यक्रम स्थगित गरेका छन् । सरकारले संविधान संशोधनमार्फत् प्रस्ताव गरेको सिमांकन हेरफेरविरुद्ध रुपन्देहीवासी मंसिर १५ गतेदेखि आन्दोलित बनेका थिए । पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावविरुद्ध ती क्षेत्रका सबैजसो दल र समाजका अरु क्षेत्र आन्दोलनमा उत्रिएका थिए । बन्द–हड्ताल र चक्काजाम जस्ता विरोध कार्यक्रम फिर्ता गरेलगत्तै त्यसक्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै जान थालेको छ । उनीहरु बन्द–हड्ताल जस्ता कार्यक्रम स्थगित गरेपनि विरोध जुलुस, सभा र बैठक भने नियमित गरिने जनाएका छन् । दर्ता गरिए पनि संसदमा टेबुल हुन बाँकी रहेको प्रस्ताव छलफलका लागि संसदमा लगिए फेरि आन्दोलनमा ओर्लने चेतावनी उनीहरुले दिएका छन् । पाल्पा, रोल्पा, प्यूठान र गुल्मीमा भने बन्द हड्तालको अवस्था कायमै रहेको छ । साता दिनदेखिको बन्दले आम सर्वसाधारणको जनजीवनमा भने असर परेको छ । यद्यपि, आन्दोलनहरुमा विभिन्न दलका नेता कार्यकर्तासहित सर्वसाधारणको ठूलै सहभागीता रहने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु