आन्दोलन देशव्यापी बनाउने निर्णय

२०७३ मंसिर २१ गते, मंगलवार

काठमाडौं, २१ मंसिर । नेकपा एमालेले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । बैठकबारे सन्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सातओटै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको बताए ।उनले भने–‘संविधान संशोधन विधेयकका विरोधमा सुरु भएको आन्दोलनलाई एमालेले सातओटै प्रदेशमा प्रभावकारी बनाउँदै देशव्यापीरुपमा विशाल जनप्रदर्शन र आमसभा गर्ने भएको छ ।’ आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय गर्ने जानकारी दिँदै उनले भने–‘विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भन्डाफोर गर्छौं ।’ विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड, एमाले नेताको घरमा भएको आक्रमण र एमालेको कार्यक्रममा भएको अवरोधको बैठकले भर्त्सना पनि गरेको छ ।
सरकारकै उच्च तहबाट पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति आएकामा बैठकले त्यसको निन्दा गरेको छ ।
त्यस्तै, बैठकले राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढंगले सम्पन्न गर्न दिन पनि सबैसँग अपिल गरेको छ । विधेयकको विरोधमा संसदमा भएका दल र अन्य पार्टी एवं सांसदलाईसमेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार संसदमा पेस भएको विधेयकका विषयमा भारतले गरेको टिप्पणी, चासो, अभिव्यक्ति र गतिविधि कूटनीतिक मर्यादाविपरीत भएको बैठकले ठहर गरेको छ ।
बैठकमा अध्यक्ष ओली, उपाध्यक्षद्वय गौतम र भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत स्थायी समितिका अधिकांश सदस्यको सहभागिता रहेको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु