अवैध पटकासहित भारतीय पक्राउ

२०७३ कार्तिक ७ गते, आईतवार

काठमाडौँ, ७ कात्तिक । प्रहरीले ठूलो परिमाणको अवैध पटकासहित भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । भारत विहारका विभिन्न स्थानमा घर भई हाल रोजगारको क्रममा काठमाडौँमा रहेका उनीहरू नेपाल सरकारबाट प्रतिबन्धित विस्फोटक पदार्थ पटकासहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट रकेट बारुद पटका २० प्याकेट, अनारदाना पटका २० प्याकेट, चक्र सानो पटका ४ प्याकेट, चक्र ठूलो पटका १० प्याकेट, आलु बारुद बम १९ प्याकेट, झिरझिरे एकसय ५० प्याकेट र भुर्इँचम्पा ११ प्याकेट बरामद भएको छ ।
राजधानीको खरिबोट क्षेत्रमा केही दिनयता पटका पड्किएको गुनासो आएपछि सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । करिब दुई दिन लामो अनुसन्धानपछि प्रहरीले एउटा बच्चाको हातमा पटका फेला प-यो ।
बच्चालाई पटकाको सम्बन्धमा सोधपुछ गर्दा उनले पसल देखाए । ती पसलले बच्चालाई बिक्री गरेको पटका नेपालमै बसोबास गर्ने एक परिचित भारतीय नागरिकले बेचिदिनु भनेर दिएको जानकारी प्रहरीलाई गराए ।
पक्राउमा संलग्न प्रहरीले सो अनुसन्धानपछि यति ठूलो परिमाणको पटका एकैसाथ पक्राउ गर्न सफल भएको जानकारी दिएका हुन् । महानगरीय प्रहरीका अनुसार, ठूलो खरिबोटबाट ललितपुर कोपुन्डोल बस्ने भारत मोतिहारीका २७ वर्षीय सुनिल शाह र कपन बस्ने सितामढीका १८ वर्षीय शत्रुघ्नकुमार शाह पक्राउ परेका हुन् ।
दसैँ र तिहारका लागि भन्दै दुई तीन महिनाअघि नै अवैध रूपमा राजधानी भित्र्याइएको उक्त अवैध पदार्थहरू लुकाई छिपाई राखी केही दिनअघि बिक्री वितरणका लागि ग्राहक खोज्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
उनीहरूको पक्राउसँगै लुकाइछिपाई राखेको पटकासमेत प्रहरीले बरामद गरेको छ । यसअघि नागढुङ्गाबाट मोतिहारीका निलम चौधरीलाई ५० कार्टुन अवैध पटकासहित प्रहरीले पक्राउ गरेको थियो । गौरबाट काठमाडौँ भित्रिँदै गरेका चौधरी सवार यात्रुवाहक बस चेकजाँच गर्ने क्रमममा उनले बोकेको बोरामा अवैध पटका फेला परेका थिए । प्रहरीले उनीविरुद्ध सार्वजिनक मुद्दाअन्तर्गत कानुनी कारबाही मुद्दा चलाएको छ ।
त्यस्तै, ललितपुरको सानेपा गुरुसिङ्गल डेरा गरी बस्ने भारतीय नागरिक रमेश कलवारको कोठाबाट चोर्सा इलेक्ट्रिक क्रेकर १४ कार्टुन, गुरुसर्मी फायरओर्क २ कार्टुन र सराउन्ड चक्कर २ बोरा बरामद भएको छ । त्यस्तै, विभिन्न प्रकारका पटका १ कार्टुन र अन्य खुला ४२ प्याकेट पटका बरामद गरी उनीसँगै अन्य तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।
पक्राउ पर्नेहरूमा सानेपा गरुसिङ्गल बस्ने बारा गढीमाई–३ का २४ वर्षीय उमेश जैसवाल, बारा भवानीपुर–४ का ३० वर्षीय गणेशप्रसाद जैसवाल र बारा जितपुरका ३५ वर्षीय रमेश शाह छन् ।
दाङ तुल्सीपुर नगरपालिका–६ डुम्रीगाउँ बस्ने रही मुल्लाको गोदाममा राखेको डेढबोरा पटाका र पटाका पड्काउने भारत बहराइच बाबागन्जका अरबिन्द चक्रवर्ती र दाङ हेकुली–३ का १७ वर्षीय नवीन चौधरीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु