पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सार्वजनिक कार्यक्रममा रोक

२०७३ भाद्र २६ गते, आईतवार

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सार्वजनिक कार्यक्रममा रोक लगाउने घोषणा गरेको छ । संगठनले अगाडि सारेका विश्वविद्यालय सुधार र विद्यार्थी हक हितलगायतका मागको बेवास्ता गरेको भन्दै सो घोषणा गरेको बताइएको छ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीको माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।
‘आफूलाई विश्वविद्यालका मालिक ठान्ने पदाधिकारीले विश्वविद्यालय एवं विद्यार्थीका हक, हितका मागप्रति गैरजिम्मेवारी प्रकट गरेकाले संगठनको जिल्ला समितिले जारी गरेका सम्पूर्ण कार्यक्रमलाई यथावत राख्दै आजका मितिदेखि विश्वविद्यालय पदाधिकारीलाई सार्वजनिक कार्यक्रम रोक लगाउने निर्णय गरेका छौँ’ सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अखिल क्रान्तिकारीले २४ घण्टाभित्र मागबारे सुनुवाई नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएको छ । अध्यक्ष सिंहले विश्वविद्यालयले पदीय मर्यादाविपरीत निर्माण गरेको वार्ता समितिसँग वार्ता नगर्ने समेत बताएका छन् ।
भदौ १२ गते विश्वविद्यालयसँग गरेको सम्झौता कार्यान्वयन नगरेर विश्वविद्यालय प्रशासन गैरजिम्मेवारी बनेको भन्दै क्रान्तिकारीले आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु