पशुको गर्भ रहे/नरहेको ३० दिनमै पत्ता लाग्ने

२०७३ भाद्र २४ गते, शुक्रबार

काठमाडौँ, २४ भदौ । पशुको गर्भ रहे/नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए/नभएको पत्ता लगाउन थालिएको हो । मुख्यरुपमा गाईमा यो परीक्षण गरिँदै आएको छ । पशुमा गर्भ रहेको तीन महिनापछिमात्रै पाठेघरमा हात हालेर गर्भ बसेको/नबसेको एकिन गर्ने गरिन्छ । त्यसो गर्दा शतप्रतिशत एकिन गर्न भने कठीन हुने गर्दछ । भैंसीलगायतका अरु जनावरमा पनि यो परीक्षण गर्न सकिने आचार्यले बताए ।
‘मिच्योल युनिभर्सिटी’ अमेरिकाका प्राध्यापकले पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटारमा गत वर्ष यस प्रविधिकाबारेमा प्रशिक्षण दिएका थिए ।
सोपश्चात् कार्यक्रमका चिकित्सकहरुले गर्भाधान पहिचान कार्यलाई सफलतापूर्वक गरेका हुन् ।
आचार्यकाअनुसार तालिममा रहेका दुईजना चिकित्सकले उक्त प्रविधिबाट हालसम्म ४२ ओटा गाईको गर्भपरीक्षण गरी नतिजा दिन सफल भएका छन् ।
‘एलाइजा’ प्रविधिबाट परीक्षण गर्दा किट महँगो हुने हुँदा एउटा पशुको गर्भपरीक्षण गर्न रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मपर्ने प्रमुख आचार्य बताउँछन् । समयमै गर्भ रहे/नरहेको थाहा पाउने भएपछि गर्भ नरहे अरु हर्माेन प्रयोग गरेर छिट्टै गर्भाधान गराउन सकिने हुँदा उक्त पद्दति नेपालको पशुपालनको क्षेत्रमा निकै फलदायी हुने देखिएको छ ।

प्रतिक्रियाहरु