कलेजोमा बोसो जम्ने समस्या बढ्दो

२०७३ भाद्र २२ गते, बुधबार

काठमाडौं, २२ भदौ । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलकाअनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भएपनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।
सुरुमा यसले खासै असर नगरेपनि पछि यसले सिरोसिस भइ क्यान्सरसमेत हुनसक्ने उनको भनाइ छ । उनी भन्छन्–‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहन–सहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’ उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अरु कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिनसक्छ । यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ । भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिनसक्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्ने, रातो नसा छालामा देखिनेजस्ता लक्षण देखिने बर्ता । उनले कलेजो बिग्रँदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेंलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरका अरु भागबाट रगत आउने, शरीर सुक्दै जानेजस्ता लक्षण देखिने पनि बताए ।
गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खन्डमा बच्चा र आमा दुबैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा. शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मकरुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताउँछन् । यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउन्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।
यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनियाविरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा. शर्माले सल्लाह दिए । – रासस

प्रतिक्रियाहरु