नेपाल जिकाको जोखिममा : विशेषज्ञ

२०७३ भाद्र २१ गते, मंगलवार

काठमाडौँ, २१ भदौ । सिंगापुरमा जिका भाइरसबाट संक्रमित भएका बिरामीहरु भेटिएपछि त्यसकाे राेकथामका लागि विभिन्न उपायहरु अप्नाउन थालिएकाे छ । लामखुट्टेबाट सार्ने भनिएकाे याे राेगलाई नियन्त्रण गर्नका लागि लामखुट्टे मार्न सिंगापुरका विभिन्न सहरहरुमा अाैषधि छर्न थालिएकाे छ । विशेषज्ञहरूले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिँदै तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन्।
सानो टाउको भएका बालबालिका जन्मन थालेपछि मात्र यो संक्रमण भित्रिएको थाहा पाउने स्थिति आउनुभन्दा पहिले नै बचाउको रणनीति बनाउन जोड दिएका हुन्। नेपालीहरू कार्यरत मलेसिया तथा सिंगापुरमा जिकाको संक्रमण देखिएपछि विज्ञहरू चिन्तित भएका हुन्।
सिंगापुरमा २१ चिनियाँ, १३ भारतीय तथा ६ बंगलादेशीसहित १ सय १५ जनामा यो संक्रमण देखिएको छ। सिंगापुरबाट मलेसिया फर्केकी एक महिलामा समेत यो संक्रमण देखिएको छ। मलेसियामा करिब ६ लाख नेपाली कामदार छन् भने सिंगापुरमा करिब ११ हजार नेपाली कार्यरत छन्। सिंगापुरमा कार्यरत १३ भारतीय कामदारमा जिका संक्रमणपछि उपचार भइरहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
मुलुकमा डेंगु र चिकनगुनियाको संक्रमण फैलाउने एडिस जातको लामखुट्टे नै जिका संक्रमणका लागि जिम्मेवार मानिन्छ। जिका भाइरसको लक्षण चिकनगुनिया र डेंगुको जस्तै हुन्छ। ‘हामी जिका संक्रमणको अन्यन्त ठूलो जोखिममा छौं, मैले बर्सेनि डेंगु लागेर उपचारका लागि मलेसियाबाट आउने नेपाली कामदारको उपचार गर्दै आएको छु,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन भन्छन्, ‘त्यहाँबाट जिका संक्रमित एक जना यहाँ आए र तिनलाई स्थानीय एडिस एजिप्टी जातको लामखुट्टेले टोक्यो भने एक–दुई हुँदै मुलुकमा नै यो संक्रमण फैलिन सक्छ।’
यति मात्र नभएर दक्षिण भारत, थाइल्यान्डबाट समेत प्रशस्त मात्रामा नेपाली विद्यार्थी उपचारका लागि राजधानी आउँछन्। त्यहाँ यसको संक्रमण देखिए मुलुकमा फैलिनबाट रोक्न गाह्रो हुने विशेषज्ञहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जिका भाइरसको प्रसारलाई लिएर गत १ फ्रेबुअरीमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालीन स्थितिको घोषणासमेत गरिसकेको छ। यो घोषणाको ३ दिनपछि नेपालमा समेत स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रसूति, स्नायु रोग लगायतका विशेषज्ञ सम्मिलित एउटा बैठक भएको थियो। उक्त बैठकले टाउको सानो भएको शिशुको जन्म र एक्कासि हुने पक्षाघात (गुलियम ब्यारी सिन्ड्रोम) देखिए तुरुन्त स्वास्थ्य संस्थामा खबर गर्नुपर्ने निष्कर्ष निकालेको थियो। स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने, ‘उक्त बैठक गर्नुबाहेक अझैसम्म हामीले भएका स्रोत साधनको अधिकतम उपयोग गरेर यो संक्रमणबाट बचाउन खासै प्रयास गरेका छैनौं।’ – अतुल मिश्र,, कान्तिपुर दैनिक

प्रतिक्रियाहरु