सभामुखको ठाडो आदेशमा संसदमा कर्मचारी थपिए

२०७३ भाद्र १७ गते, शुक्रबार

काठमाडौं, १७ भदौ । आर्थिक मितव्ययिता कायम गर्न खाजा–खानाको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन् ।
खाजा–खाना कुपनको व्यापक दुरुपयोग भएको भन्दै कुपन सिस्टम बन्द गरेकै भोलिपल्ट सभामुख घर्तीले आफ्नै जिल्लाका दुईसहित चारजनालाई ठाडो आदेशमा संसद सचिवालयमा करारमा नियुक्त गरेकी हुन् ।
संसदमा १४ जना कार्यालय सहयोगी करारमा कार्यरत रहेकै बेला सभामुख घर्तीले ती चारजनालाई नियुक्त गर्न लगाएकी हुन् । संसदको प्रशासन महाशाखाका अनुसार चारमध्ये दुईजना सभामुख घर्तीकै गृहजिल्ला रोल्पाका छन् ।
सभामुखको ठाडो आदेशमा कर्मचारी नियुक्त गर्न थालेपछि उपसमाभुख गंगाप्रसाद यादवले पनि आफूले कर्मचारी भर्ना गर्न पाउनुपर्ने अडान लिएका थिए । ‘उपसभामुखको अडानपछि तीन जना सभामुखका र एक जना उपसभामुखको मान्छे नियुक्त गरियो,’ सचिवालय उच्च स्रोतले भन्यो ।
विगतमा टेन्डर आह्वान गरी कम्पनीमार्फत कर्मचारी भर्ना गरिए पनि यस पटक सभामुखको आदेशमा महासचिव मनोहरप्रसाद भट्टराईले सिधै कर्मचारी भर्ना गरेको स्रोतले बतायो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु