चार विधेयक पारित

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँ, १६ भदौ । व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु सङ्घसंस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको छ भन्नुभयो ।
लेखापरीक्षण पहिलो संशोधन विधेयक पनि पारित
अर्थ समितिको प्रतिवेदनसहितको लेखापरीक्षण (पहिलो संशोधन) विधेयक, २०७३ सदनले आज पारित भएको छ । यसअघि अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रस्ताव पारित गरियोस् भनी पेस गर्नुभएको थियो । उक्त प्रस्तावमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री महराले लेखापरीक्षणसम्बन्धी सम्पूर्ण विषयलाई सरकारी लेखापरीक्षणको दायरामा ल्याउने प्रयास गरिएको बताउनुभयो ।
नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक पारित
व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ लाई पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री महराले उक्त प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसदले भाग लिनुभएको थियो । बैठकमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले सामन्तवादी अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्रमा जान संविधानले बाटो खोलेको छ, त्यसैले आजको वस्तुगत यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो – “राष्ट्र बैंकको पूँजी वृद्धि गरिएको, बैंकको सेवालाई जनतातर्फ फर्काइएकाले विधेयकमा धेरै नयाँ विशेषता बनेको छ, यसले राष्ट्र बैंकको क्षमतामा समेत वृद्धि गर्नेछ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक
निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३ आज सदनबाट बहुमतले पारित भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयकमाथिको छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद जनकराज जोशी र नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले भाग लिनुभएको थियो । बैठकमा सांसदले उठाउनुभएको जिज्ञासालाई शान्त तुल्याउने क्रममा अर्थमन्त्री महराले विधेयकले जनताको निक्षेप र कर्जालाई राज्यले सुरक्षा गर्ने प्रत्याभूति गरेको जानकारी दिनुभयो ।-रासस

प्रतिक्रियाहरु