‘हेलो सरकार’मा उजुरीको चाङ्ग

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँ, १६ भदौ । ‘हेलो सरकार’मा उजुरी गर्नेको सङ्ख्या फेरि बढ्न थालेको छ । सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्ने गरी व्यवस्था गरिएकोले उजुरीको सङ्ख्या फेरि बढ्न थालेको बताइएको छ । प्रधानमन्त्री कार्यालयले गुनासो सुन्न सामाजिक सञ्जाल तथा अन्य विधिको प्रयोग गर्न थालेपछि उजुरी बढेको हो । पाँच वर्षअघि सुरु गरिएको हेलो सरकारमा आउने गुनासोकोे उचित सम्बोधन भएपछि बीचमा गुनासोकर्ताको सङ्ख्या ह्वात्तै घटेको थियो । ‘सुरुमा प्रत्येक महिना करिब दुई हजारको सङ्ख्यामा गुनासो तथा उजुरी आउने गरेकोमा बीचमा घटेर दुई सय वरिपरिमा झरेको थियो’, ‘प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकान्त घिमिरेले भने , अहिले फेरि बढेर मासिक सरदर एक हजारको सङ्ख्यामा गुनासो आउन थालेको छ । ’
घिमिरेका अनुसार, सुरुमा टोलफ्री नम्बरबाट मात्र गुनासो लिने व्यवस्था भएकोमा अहिले फेसबुक, ट्वीटर तथा इमेलबाट समेत उजुरी लिने गरिएको छ । सचिवका अनुसार, कार्यालयले चाँडै गुनासो सुन्न ‘मोबाइल एप’को समेत व्यवस्था गर्न लागेको छ ।
प्रधानमन्त्री कार्यालयमा मात्र रहेको हेलो सरकारलाई अहिले विस्तार गरेर क्षेत्रीय प्रशासन कार्यालयमा पनि पु¥याइएको छ । हटौँडा, धनकुटा, पोखरा, धनगढी र दिपायलमा यसका शाखाहरू स्थापना गरिएका छन् । यद्यपि अहिलेसम्म यीमध्ये हेटौँडाको कार्यालयमा मात्र गुनासो आएका छन् ।
हेटौँडा शाखाका कर्मचारीका अनुसार, त्यहाँ साउन महिनामा ३० वटा उजुरी परेका थिए । धनगढी, दिपायल र धनकुटामा भने उजुरी परेका छैनन् । सरकारको सेवा प्रवाहप्रति जनताको प्रत्यक्ष गुनासो सुन्ने गरी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा यो सेवा सुरु भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार पाँच वर्षको अवधिमा ४७ हजार १९ वटा गुनासो कार्यालयमा आएका छन्, जसमध्ये ४३ हजार ६४५ वटा गुनासो फस्र्योट भएको छ ।

प्रतिक्रियाहरु