सीडीओहरुलाई गैरसरकारी संस्थाका कार्यक्रममा नजान उर्दी

२०७३ भाद्र १३ गते, सोमबार

काठमाडौ, १३ भदौ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सीडीओ आफैं परियोजना र कार्यक्रममा संलग्न हुँदा गैससकोस्वेच्छाचारिता बढेको निष्कर्ष निकाल्दै गृहले ‘परियोजनाको स्वीकृति, गोष्ठी, सेमिनार र तालिम’ लगायतका सबै प्रकृतिका गतिविधिमा संलग्न हुन रोकेको हो ।
संस्था दर्ता, वार्षिक गतिविधि, आयव्यय विवरण र कार्यक्षेत्रअनुसार गतिविधि गरेको छ/छैन भनी त्यसको अनुगमन र कारवाहीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हो । गृहले क्षेत्रीय प्रशासन कार्यालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पठाएको निर्देशनमा ‘सीडीओको जिम्मेवारी शान्ति सुरक्षा रहेकाले त्यसभन्दा बाहिरको गतिविधिमा संलग्न नहुन र राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा कर्मचारीलाई समेत सहभागी नगराउन’ निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु