जारी संविधान खारेजीको बिकल्प छैन : वैद्य

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौ, ९ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताएका छन । जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उनले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे ।
वैद्यले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताए । पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल पुगेका वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताएका हुन् ।
वैद्यले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गरे । वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको अध्यक्ष वैद्यले टिप्पणी गरे ।

प्रतिक्रियाहरु