मधेस आन्दोलमा मारिएकाका परिवारलाई १० लाख

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं, २ भदौ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ जना सर्वसाधारणसहित ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई सहिद घोषणा गरेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरिसकेको थियो ।
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने र ४१ जना सर्वसाधारणलाई सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिए । बैठकले मधेस आन्दोलनमा भएका घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षमा आयोग गठन गरेको छ । सात सदस्यीय आयोगका अरु सदस्य प्रधानमन्त्री पुष्पकमल दाहालको समन्वयमा गृह मन्त्रालयले तोक्ने निर्णय गरेको छ ।
यसैगरी सरकारले अफगानिस्तानको काबुल घटनाका घाइतेको उचारका क्रममा लागेको ९१ लाख ६ हजार खर्च बेहोर्ने निर्णय गरेको छ । काबुल आक्रमणमा मारिएका १२ जना नेपालीको शव नेपाल वायु सेवा निगमको जहाज चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रियाहरु