उपप्रधान एवं गृहमन्त्री निधी भारत जादै

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं,२ भदौ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा आज भारत भ्रमणमा जाँदै छन् । निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम छ । मन्त्री निधीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नेछन् । नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध चाहन्छ, मधेसी दलको माग सम्बोधन गर्र्न तयार छ भन्ने सन्देश प्रवाह गर्नुका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्नु मन्त्री निधीको भ्रमणको उद्देश्य रहेको छ ।
त्यसैगरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा नेपालका राष्ट्रपतिको भारतको भ्रमणको विषयमा पनि यस पटक छलफल हुने छ । उता, चीन भ्रमणमा रहेका अर्का उपप्रधान एवं अर्थमन्त्री कृणबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन भ्रमणमा रहनु भएका अर्थमन्त्री महराले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली ले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि चीन भ्रमण गर्न आग्रह गर्नुभएको बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले जानकारी दिए ।
यसबारे दुई देशका परराष्ट्र मन्त्रालयलाई नियमित सम्पर्कमा रहेर आवश्यक संमन्वय गर्न भनिएको घिमिरेले जानकारी दिए । भेटवार्तामा अघिल्लो सरकारले गरेका सहमति कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रियाहरु