श्रमजीवि ट्रेड युनियन महासंघ आन्दोलित

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं, २ भदौ । आफूले राखेका मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले आन्दोलन सुरु गरेको छ । राजधानीको शान्तीवाटिकामा विरोध सभा गर्दै महासंघले आन्दोलनको सुरुवात गरेको हो । गरिब तथा मजदुरको पक्षमा विभिन्न समयमा आन्दोलित हुँदै आएको महासंघले गत असार २६ गते तत्कालीन श्रममन्त्री दिपक बोहोरा समक्ष विभिन्न १५ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्रमा अधिकार सम्पन्न मजदुर आयोग तत्काल गठन गर्नु पर्ने, प्रत्येक संगठित तथा असंगठित मजदुरहरुको पाििश्रमिक शत प्रतिशत वृद्धि गरिनु पर्ने, मजदुरहरुको विमा सम्बन्धित कम्पनी वा प्रतिष्ठानले गर्नु पर्ने, सबै मजदुरहरुलाई अनिवार्य नियुक्ति पत्रको व्यवस्था गर्नु पर्ने, सम्पूर्ण मजदुरहरुको लागी अनिवार्य राशनकार्डको व्यवस्था गर्नु पर्ने, मजदुर तथा तिनका परिवारका सदस्यहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने व्यवस्था गर्नु पर्ने, घाईते, अपांग तथा अशक्त मजदुर परिवारको पालन पोषण तथा निवृत्ति भरणको व्यवस्था गर्नु पर्ने, यातायातसँग सम्बन्धित सम्पूर्ण श्रमजिवीहरुलाई यातायात व्यवस्था ऐनमा उल्लेख भए बमोजिम परिचयपत्रको व्यवस्था गर्नु पर्ने, अन्तराष्ट्रिय सन्धि सम्झौतामा उल्लेख भए बमोजिम ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको व्यवस्था कार्यान्वयन गर्नु पर्ने तथा उक्त समयका अतिरिक्त काम गरे वापत ओभरटाईमको व्यवस्था गर्नु पर्ने, कालो बजारी, भ्रष्टाचारी, तस्करी, गुण्डागर्दी र महंगी नियन्त्रण गर्नु पर्ने, गरीब किसानहरुको मलखाद, बिउबिजन, प्राविधिक औजार लगायत किसान वर्गले प्रयोग गर्ने सामाग्रीहरु निशुल्क वितरणको सहितव्यवस्था गर्नु पर्ने र भूकम्प पिडीतको सम्बन्धमा सरकार गम्भीर बनी तत्काल कदम चाल्नु पर्ने लगायतका मागहरु समेटिएका थिए । महासंघले आफ्ना मागहरु अपिलपत्रका रुपमा छपाई व्यापक प्रचार प्रसार समेत गरिरहेको थियो ।
शान्तीवाटिकामा विरोध सभा गर्नु अघि महासंघले नारा जुलुस सहित अपिलपत्र वितरण प्रचार गर्दै चक्रपथ परिक्रमा गरेको थियो । प्रचारात्मक परिक्रमा पछि आयोजित विरोध सभामा मजदुर, कलाकार, पेशाकमी, मानवअधिकारवादी, लगायतका पेशा व्यवसायमा आवद्ध हजारौंको सहभागिता रहेको थियो । सभाको अध्यक्षता ग्रहण गर्दै महासंघका अध्यक्ष राम बहादुर तामाङले साशकहरु जनतभावना विपरीत सोच राख्ने मात्र भएकोले जनताहरु आन्दोलित भई रहनु पर्ने बाध्यता भएको बताएका थिए । साशक बस्ने महल देखि उनीहरुले बिलासिताको लागी प्रयोग गर्ने हरेक साधन समेत मजदुरले बनाएको नभुल्न आग्रह गर्दै तामाङले निर्माण गर्ने मजदुरलाई ध्वंस गर्ने कार्यमा प्रेरित नगर्न चेतावनी दिएका थिए । साथै पहिले ज्ञापनपत्र बुझाएको सरकार परिवर्तन भई सकेकोले नयाँ सरकारलाई छिट्टै बुझाउँने एवं चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम जारी राखिने बताएका थिए ।
महासंघका महासचिव नेत्र लिम्बु र उपमहासचिव सुरेश कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त विरोधसभामा उपाध्यक्ष कुल बहादुर बस्नेत, उपमहासचिव निरज बस्नेत, बरिष्ठ सल्लाहकार जय बहादुर खत्री लगायतले आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रियाहरु