नेविसंघको निर्वाचन प्रक्रिया सुरु

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौं, ३१ साउन । विवादकैबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ । नेता रामचन्द्र पौडल पक्षधर विद्यार्थीको नाराबाजीबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्वाचन कार्यक्रम अन्तगर्त मनोनयन दर्ताको प्रक्रिया सुरु भएको हो । अहिले सम्म विभिन्न पदका लागि लगभग सात सयको हाराहरीमा मनोनयन फारम वितरण भएको छ । अहिले सम्म केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षधरले एकलौटी रुपमा महाधिवेशनको प्रक्रिया शुरु गरेको भन्दै पौडेल पक्षका विद्यार्थीहरु भने अहिले पार्टी कार्यालय सानेपामा नाराजुलुश गरिरहेका छन् । उनीहरुले आफुहरुको माग सम्वोधन नगरे निर्वाचन प्रक्रिया बहिस्कार गरेर नयाँ अधिवेशन गर्ने तयारी समेत गरेका छन् ।
नेविसंघ निर्वाचन समितिले भने निर्वाचनको सबै तयारी पुरा भएर मनोनयनको प्रक्रिया अघि बढाएको जनाएको छ । सहमतिका लागि नेताहरुबीच छलफल चलिरहेकाले ११ बजे सम्मका लागि तय भएको मनोनयन गर्ने समय १ बजे सम्मका लागि बढाइएको बताइएको छ ।
निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले अध्यक्ष, प्रदेश र सामुदायिक विद्यालय तर्फको पदका लागि इलेक्ट्रोनीक मेशिन प्रयोग गर्न लागिएको बताए ।
उनले १ बजे सम्म मनोनयन दर्ता गरेर भोली नै निर्वाचन सम्पन्न गर्ने गरी नै तयारी भईरहेको जानकारी दिए । सानो संख्याको मतदाता रहने पदका हकमा भने कागजी मतपत्र नै बनाइने बताए ।
अप्रिय घटना हुन नपाओस् भनेर कांग्रेस पार्टी कार्यालय परिसर सानेपामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार दिउँसो पनि सभापति शेरबहादुर देउवा र नेता पौडेल पक्षधर विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

प्रतिक्रियाहरु