ओबामाको छोरीको अनुकरणीय काम

२०७३ श्रावण २२ गते, शनिबार

काठमाडौ, २२ साउन । अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरीको काम अनुकरणीय छ । विश्वकै शक्तिशाली मुलुकका राष्ट्रपति ओबामा व्हाइट हाउसमा सुखसुविधाका साथ बस्छन् । तर, उनकै छोरी साशा ओबामा भने व्हाइट हाउसको ऐशआराम छोडेर एउटा रेष्टुरेन्टमा वेटरको काम गरिरहेको धेरैले नपत्याउन पनि सक्छन् । हो , १५ वर्षीया साशा गर्मी विदामा म्यासाचुसेट्सको मार्था वाइनयार्डको एउटा रेष्टुरेन्टमा काम गरिरहेकी छन् । रेष्टुरेन्टमा उनी वेटरको काम गरिरहेकी हुन् ।
बोस्टन हेराल्डका अनुसार साशा (जसको पूरा नाम नताशा हो) का साथमा रेष्टुरेन्टमा उनको सुरक्षाका लागि खुफिया विभागका ६ जना एजेन्ट पनि आउने गर्दछन् ।
ओबामा परिवार गर्मी विदामा सधैजसो यो सहरमा आउने गर्दछ । तस्वीरमा राष्ट्रपति ओबामाकी कान्छी छोरी साशालाई रेष्टुरेन्टको वेटरका आधिकारिक पोसाक निलो टिश सर्ट र क्यापमा रिसेप्सनमा काम गर्दै गरेको देख्न सकिन्छ ।
साशाका साथमा काम गरिरहेका कर्मचारीले हेराल्ड पत्रिकासँग भने–उनी तल्लो फ्लोरमा काम गर्छिन् । हामी त चकित थियौ, जब उनी यो काममा आउँछिनतब उनका साथ ६ जना पनि साथमा किन आउँछन् ? पछि थाहा भयो कि उनीहरु को हुन् ।
व्हाइट हाउसले साशाको कामका बारेमा कुनै टिप्पणी गरेको छैन । तर मिशेल ओबामा सधैं भन्ने गर्छिन् कि उनी आफ्ना छोरीहरुलाई सामान्य तरिकाले हुर्काउन चाहन्छिन् । टेक अवे काउन्डरमा काम गर्नुका साथै साशाको काम टेबुलमा ग्राहकलाई भोजन पुराउनु र लञ्चका समयमा रेस्टुरेन्टलाई ठिक गर्न सहयोग पनि गर्नुपर्ने हुन्छ ।
साशाभन्दा पहिला उनकी दिदी मालियाले फिल्मको सेटमा दुईपटक इन्टर्नशिप पनि गरेकी थिइन् ।
पश्चिमी मुलुकहरुमा ठुला हस्तीहरुका सन्तानलाई यसप्रकारको काम गर्नु कुनै नयाँ कुरा होइन । डेभिड र भिक्टोरिया बेकहमका छोरा ब्रुकलिन बेकहम लण्डनमा फिल्म मेकर गाय रिचीको कार्यालयमा काम गरिसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु