सप्तकोसीमा पानीको बहाव बढ्यो, २५ वटा ढोका खोलियो

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौं, ६ साउन । पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् । आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव हिजो साँझदेखि नै निरन्तर बढिरहेकाले अहिले बिहान ब्यारेजका २५ वटा ढोका खोलिएको छ ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिदैं पहाडी क्षेत्रमा बर्षा रातभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्नसक्ने अनुमान गरिएको बताए ।
यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक बाढीको बहाव मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिए ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु