तोराखेतमा भीषण पहिरो

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौं, ६ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । हिजो दिउसो गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ । त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीयले बताएका छन । गत सालको पहिरोले क्षति पु-याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पठाइएको र प्रहरीले सतर्क रहन आग्रह गर्दै माइकिङ गरेर फर्केको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । प्रनाउ खड्काले पहिरोले घरगोठ बगाएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताए । विगत पाँच वर्षदेखि तोराखेतमा पहिरो खस्दै आएको छ । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । बुधबार पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भएपनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका वडा नं. ४ बगरफाँटसमेत जोखिममा परेको छ । जिल्लाकै ठूलो दीर्घकालीन असरपार्ने पहिरोको रुपमा समेत चिनिएको तोराखेत पहिरोले विस्थापित भएकाले विगतदेखि नै उचित स्थानको माग गरे पनि सम्बन्धित निकायबाट सहयोग नभएको गुनासोसमेत गर्ने गरेका छन् । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पुल एकातिर, खोला अर्कैतिर !

२०८१ जेष्ठ ६ गते, आईतवार

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार