टर्कीमा हजारौ प्रहरी निलम्बित

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन ।टर्की सरकारले करिब ८ हजार प्रहरी अधिकारीलाई सत्ता विद्रोहमा संलग्न रहेको आरोपमा निलम्बन गरेको जनाएको छ। यसका साथै सेना र न्याय व्यवस्थासँग सम्बन्धित करिब ६ हजार जनालाई हिरासतमा लिइएको छ ।हिरासतमा लिइएकाहरुमा सैनिक जर्णेलहरुसमेत रहेको बताइएको छ।
टर्कीमा राष्ट्रपति रेचप तैयब आर्दोआनले विद्रोहमा उत्रने भाइरसहरुलाई सरकारी प्रतिष्ठानबाट निश्कासन गर्ने बताएका छन् । टर्की सरकारले सत्ता विद्रोहमा धर्मगुरु फहतुल्लाह गुलेनको हात रहेको दावी गरेको छ। गुलेन अहिले अमेरिका रहेका छन् । तर, गुलेनले भने विद्रोहमा आफ्नै कुनै संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गरेका छन् ।
सरकारी संचार माध्यमले सोमबार दशेभरबाट १ सय बढी जर्नेल र प्रशासकहरुलाई हिरासतमा लिइएको जनाएका थिए । यता आठ जना सैनिक अधिकारी भने हेलिकोप्टर प्रयोग गरेर ग्रीसतिर भागेको जनाएको छ। उनीहरुलाई ग्रीसमा गैरकानुनी ढंगले प्रवेश गरेको आरोपमा सीमावर्ती सहर अलेक्ज्यान्द्रोपाउलीस्थित अदालतमा पेस गरिएको छ ।
राष्ट्रपति आर्दोआनले आइतबार आफ्नो सरकारले टर्कीमा पुनः मृत्युदण्डको व्यवस्था कायम गर्ने विषयमा विचार गरिरहेको बताएका थिए ।
सन् २००४ मा युरोपियन युनियनमा समावेश हुने क्रममा टर्कीमा मृत्युदण्ड अन्त्य गरिएको थियो । टर्कीमा सन् १९८४ यता कसैलाई पनि मृत्यु दण्डको सजाय दिइएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु