केजरीवालले भाँडा माझेर प्रायश्चित गरे

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् । आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरुग्रन्थ साहिबसँग गरेको थियो । घोषणापत्रमा स्वर्णमन्दिरको तस्वीर सँगै आम आदमी पार्टीको चुनाव चिन्ह झाडुको पनि तस्वीर राखिएको थियो ।
त्यसलगत्तै शीख धर्मावलम्बीले व्यापक विरोध गरेका थिए । विरोध बढ्दै गएपछि केजरीवालले स्वर्ण मन्दिरमा पुजा गर्नुका साथै मन्दिर परिसरमा सर्वसाधारणलाई खुवाउन प्रयोग गरिने भाँडा माझेका छन् । तर माझेर सफा पारिएका भाँडा नै केजरीवालले पखालेको बताइएको छ ।
केजरीवाल पुग्दा जुठा भाँडा सफा पारिसकिइएको र खाना खुवाउने बेला समेत टरिसकेका कारण उनले सफा भाँडा नै पखालेको जनाइएको छ । कतिपयले भने केजरीवालले यो गतिविधिलाई ‘नौटंकी’ भनेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु