आज कमैया मुक्ति दिवस

२०७३ श्रावण २ गते, आईतवार

काठमाडौँ, २ साउन । आज साउन २ अर्थात कमैया प्रथा मुक्त गरिएको दिन । यसै अवसर पारेर मुक्त कमैयाले आज उपत्यकासहित थारू बहुल सबै जिल्लामा मुक्ति दिवस मनाउँदै छन् । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो ।
सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरे पनि पश्चिम नेपालका दुई जिल्ला कैलाली र बर्दियामा अझै मुक्त कमैयाको पुनःस्थापना सम्पन्न भएको छैन । अन्य जिल्ला कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैयाको पुनःस्थापनाको काम सकिएको सरकारले बताएको छ । दुई जिल्लामा पनि यही आर्थिक वर्षभित्र पुनःस्थापनाको काम सक्ने तयारी सरकारको छ ।
मुक्त कमैया क्षेत्रमा काम गर्ने कमैया महिला जागरण समाजका अनुसार कैलालीमा चार सय घरधुरीलाई पुनःस्थापना गर्न बाँकी छ । त्यस्तै, १२ सय घरपरिवारको सट्टाभर्ना गर्नुपर्नेछ । नदीको बगरमा, बलौटे जग्गामा मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा नदीले कटान गरेपछि ती कमैयालाई पुनः अर्को जग्गाको व्यवस्था गर्नुलाई सट्टाभर्नाको काम भनेर सरकारले परिभाषित गरेको छ । अन्य जिल्लामा सो काम सम्पन्न भए पनि कैलाली र बर्दियामा बाँकी छ ।
त्यस्तै, बर्दियामा तीन सय घरपरिवारको पुनःस्थापना र नौ सय घरपरिवारलाई सट्टाभर्ना गर्न बाँकी रहेको समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारूले बताए । सरकारी कर्मचारीको ढिलासुस्तीका कारण १७ वर्ष पुग्दासमेत कमैयाको पुनःस्थापना नहुनु दुःखद् भएको थारू बताउछन । यत्तिका वर्षसम्म घाम, शीत, वर्षाको पीडाले मुक्त कमैयाहरू बाँच्दैआएको बताउँदै उनले सरकारलाई कमैयाको समस्याप्रति गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु