अझै रोकिएन भोटेकोशीको कटान

२०७३ असार ३० गते, बिहीबार

काठमाडौं, ३० असार । सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको एक सात बित्न लाग्दा समेत नदीले कटान गर्ने क्रम रोकिएको छैन । बाढीले तातोपानी र लिपीङ आसपासमा हालसम्म ७० घर बगाएको छ । बुधबारसम्म ६७ घर बगाएकोमा आज बिहान थप तीन घर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए ।
भोटेकोशीमा बाढी आए पछि दैनिक रुपमा नै नदी छेउका घरहरु बगाइरहेको हो । भोटेकोशीले तातोपानी र लिपीङ क्षेत्रमा बढी घर बगाएको छ । नदीको वहाब नरोकिने हो भने नदी छेउका घर अब एउटा पनि बाँकी नरहने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडीले जानकारी दिए । नदीको वहाब नरोकिदा अस्थाई रुपमा भएपनि नदी नियन्त्रण गर्न समस्या भएको छ । भोटेकोशीको बाढी पछि बाह्रविसे माथिका सात गाविसका स्थानीय सडक, सञ्चार र विद्युत सेवाबाट बञ्चित भएका छन् । सडक सञ्चालन नुहंदा यस क्षेत्रका स्थानीय बिरामी हुदा ठुलो समस्या भएको छ ।
बर्षाको सुरुवात भएदेखि नै लार्चादेखि लिपिसम्मका पहिरोले गर्दा सबै बस्ती पूर्णरुपमा जोखिममा छन् । लगातार जमिन कटान नरोकिनाले बजार मात्र नभइ अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।
पर्यटकीय सम्पदाहरु तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका प्रशस्तै संरचनाहरुमा अधिकांश भाग काटिसकेको छ । नदीले बगाएर ल्याएको ठूला ढुंगाहरु दशकिलो नजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ ।
४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको ड्यामले गर्दा नदीले घरहरु कटान गरेको स्थानीले बताएपछि आवश्यक परेमा नेपाली सेनासँग समन्वय गरेर ड्याम फुटाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए ।
विशेषज्ञसँग समन्वय गरेर आवश्य परेमा भोटेकोशीको ड्याम विष्पोट गराउने सम्मको छलफल भएको प्रमुख जिल्ला अधिकारी दुवाडीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु