बेलायती गोर्खा सैनिकद्वारा समान निवृत्तिभरण र स्वास्थोपचारको माग

२०७३ असार १८ गते, शनिबार

काठमाडौँ, १८ असार । बेलायती गोर्खा सत्याग्रह सङ्घर्ष समिति नेपालले समान निवृत्तिभरण, स्वास्थोपचारको सुविधा लगायत आफ्ना मागलाई बेलायत सरकारले सम्बोधन गर्नुपर्ने जनाई नेपालस्थित बेलायती राजदूतावासमा धर्ना दिएको छ ।
पूर्वगोर्खा सैनिकद्वारा स्थापित उक्त समितिले एकल महिला सुविधा तथा १८ वर्ष माथिका वयस्कलाई उमेरको हदबन्दी नतोकी आवासीय प्रवेशाज्ञा प्रदान गराउन बेलायती सरकारलाई आग्रह समेत गरेको छ । समितिका प्रचारप्रसार विभागका संयोजक गर्जबहादुर गुरुङले आफ्ना मागबारे छलफल गर्न बेलायत र नेपाल सरकारबीच औपचारिकपत्र आदानप्रदान भइसके पनि अहिलेसम्म छलफल प्रक्रिया अगाडि नबढेकाले आफ्ना माग छिट्टै सम्बोधन होस् भन्ने उद्देश्यले उक्त दबाबमूलक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
समिति बेलायतमा पनि दुई वर्ष पहिले १५ दिने आमरण अनशन बसेको थियो । अनशनपछि बेलायती सरकारले आफ्ना केही माग पूरा गरे पनि मुख्य माग समान निवृत्तिभरण, आवासीय प्रवेशाज्ञाजस्ता समस्यालाई बेवास्ता गरेको जनाई नेपालबाट पनि दबाब दिन उक्त धर्ना कार्यक्रम गरिएको उहाँले स्पष्ट पारे ।
संयोजक गुरुङले सरकारले भूतपूर्व बेलायत गोर्खाको समस्यालाई राष्ट्रिय कार्यसूचीमा राखी बेलायती सरकारलाई द्विपक्षीय वार्ताका लागि दुई पटक औपचारिक पत्र पठाइसकिएको बताए ।

प्रतिक्रियाहरु