रियो दि जेनेरियोमा वित्तीय आपतकाल घोषणा

२०७३ असार ४ गते, शनिबार

काठमाडौं, ४ असार । ब्राजिलको रियो दि जेनेरियो राज्यमा ओलम्पिक्स सुरु हुन ५० भन्दा कम दिन बाँकी रहँदा वित्तीय आपत्काल घोषणा गरिएको छ । आफ्नो घोषणासँगै रियोका अन्तरिम गर्भनर फ्रान्सिस्को दोर्नेल्सले राज्य ‘टाट पल्टिएको’ प्रस्ट पारेका छन् । उनले गम्भीर आर्थिक संकटको चुनौतीका कारण प्रतियोगिताअघि विशेष कदम चालिनुपर्ने बताए । आपत्काल घोषणाले ओलम्पिक आयोजनाका लागि सार्वजनिक सेवाहरुमा कटौती गर्न विशेष कदम चाल्न अधिकार दिनेछ । ओलम्पिक्सको अधिकांश खर्च रियोको स्थानीय निकायले गरिरहेको छ । तर, यातायात र प्रहरी व्यवस्थापनको जिम्मा राज्य सरकारले लिएको छ । दोर्नेल्सले सार्वजनिक गरेको दस्तावेजमा रियोमा भयावह आर्थिक संकट गहिरिएको र त्यसका कारण ओलम्पिक्ससम्बन्धी प्रतिबद्धता पूरा गर्न बाधा पुगिरहेको उल्लेख छ । रियोका गर्भनर दोर्नेल्सले तेल उद्योगबाट घट्दो करका कारण संकट आएको आरोप लगाएका छन् ।
ब्राजिल अहिले गहिरो मन्दीसँग जुधिरहेको छ । राज्यका कामदार, पेसन लिनेहरुलाई रकम दिन बाँकी छ भने अस्पताल, प्रहरीचौकी आर्थिक संकटबाट नराम्ररी प्रभावित भएका छन् । सुरक्षा, स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवा पूर्णरुपमा तहसनहस हुनसक्ने औंल्याइएको छ । अन्तरिम राष्ट्रपति माइकन तेमेरले महत्वपूर्ण आर्थिक सहायताको वचन दिएका छन् । जिका भाइरसका कारण पनि प्रतियोगितामा असर पार्नसक्ने आंकलन गरिएको छ ।रियो ओलम्पिकमा ५ लाख विदेशी पर्यकटकले भ्रमण गर्ने अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु