मुस्लिम समुदायको प्रवेशमा रोक लगाउ : ट्रम्प

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौ, ३२ जेठ । अमेरिकाको आरल्याण्डो नाइटक्लवमा भएको आक्रमणपछि राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले अमेरिकामा मुसलमानको प्रवेशमा अस्थाई रोक लगाउनुपर्ने पुनः दोहोराएका छन् ।
न्युहैम्पशायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणाली बेकार रहेको भन्दै यसैका कारण आरल्याण्डोमा आक्रमण गर्ने व्यक्तिको परिवार अफगानिस्तानबाट अमेरिका प्रवेश गर्न सकेको दावी गरे ।
उनले यदि आफू राष्ट्रपति बने यो समस्या समाधान गर्ने दावीसमेत गरे । वर्तमान अवस्थाको आलोचना गर्दै उनले अमेरिकामा अरु सम्भावित हत्याराहरुलाई आउन दिइरहेको बताए ।
उनले भने–हामी हजारौ हजारलाई अमेरिका आउने अनुमति दिन सक्दैनौ, यसमध्ये कयौ व्यक्ति उही बर्बर हत्याराजस्ता सोच राख्ने हुन सक्छन् ।
मुस्लिम समुदायमाथि आरोप लगाउँदै उनले आरल्याण्डोमा आक्रमण गर्ने बन्दुकधारीका बारेमा मुस्लिम समुदायलाई जानकारी रहेको भन्दै उनले तर उक्त जानकारी प्रहरीलाई नदिएको दावी गरे।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र राष्ट्रपति पदकी डेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदवार हिलारी क्लिन्टनमाथि निशान साँध्दै ट्रम्पले घुमाई फिराई कुरा गर्नुको सातो यो विषयमा खुलेर कुरा गर्ने र कुनै ठोस कदम चाल्न अड्चन आएको बताए ।
यता राष्ट्रपति पदकी डेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदवार हिलारी क्लिन्टनले आफू राष्ट्रपति बने यस्ता एकल आक्रमण गर्नेको पहिचान गर्ने र रोक्ने कार्यलाई आफूले प्राथमिकता दिने बताएकी छन् । उनले अमेरिकी नेतृत्वको गठबन्धनलाई सिरिया र इराकमा चरमपन्थी संगठनविरुद्ध सफलता मिलेको भन्दै आइएसले यस्ता आक्रमण तिब्र बनाउन सक्ने चेतावनीसमेत दिइन् ।
हिलरी क्लिन्टनले युद्धमा प्रयोग हुने हतियार र गोलीको सडकमा कुनै काम नहुने बताइन् । उनले चरमपन्थी समूहको हातमा एसल्ट राइफल आउनबाट रोक्ने उपाय खोज्ने दावीसमेत गरिन् । – एजेन्सी

प्रतिक्रियाहरु