गुहार माग्दै मोदी

२०७३ जेष्ठ ३१ गते, सोमबार

काठमाडौ, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि मोदी रुससँग गुहार माग्न पुगेका हुन् । मोदीले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बुझिएको छ । सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आ–आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरिरहेका छन् । तुलनात्मक रुपमा विश्व समुदायमा भारतले धेरै समर्थन जुटाए पनि चीनले समर्थन नगर्दा उसको प्रयास तत्कालका लागि विफल भएको छ ।
चीनले नयाँ आवेदकका लागि शर्त खुकुलो बनाउन नहुने प्रस्ताव गर्दै आएको छ । परमाणु अप्रसार सन्धीमा भारतले हस्ताक्षर नगरेसम्म उसलाई न्यूक्लियर सप्लायर्स ग्रुपमा राख्न नसकिने चीनको अडान छ ।
रुसी राष्ट्रपति कार्यालयले मोदी–पुटिन टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । सो कार्यालयका अनुसार मोदीले पुटिनलाई फोन गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु