कतारको भूमिमा जनयुद्धका जगतबहादुरको पीडा

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौँ, १२ जेठ । मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए । अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् । विश्वकर्मा जनयुद्धकै क्रममा बाग्लुङमा दुई महिना हिरासतमा रहँदा प्रहरीकोे यातना भोगेर कष्टकर जीवनबाट बाँचे पनि युद्धमा लागेर सहिद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन् । ४७ वर्षे विश्वकर्मा पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना नल्याएकोमा दुखेसो गरे ।
बालबच्चाको लालनपालन र शिक्षा दिनका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले बताए । युद्धको समयमा उनी विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पु-याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे । त्यसैले उनी पटक पटक प्रहरीको निसानामा रहिरहन्थे र परिवारले समेत यातनाको सिकार हुनुपर्दथ्यो ।
कतार प्रवेशसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहेका थिए । हाल मुटुसम्बन्धी विमारले च्याप्दै जाँदा उनी महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क भएको भन्दै भक्कानिए । दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हुँदा पार्टीले जनभावना बुझ्न नसकेकोमा आफू निराश भएको उनले बताए । -रासस

प्रतिक्रियाहरु