इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन

२०७३ जेष्ठ ८ गते, शनिबार

काठमाडौं, ८ जेठ । इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ । विमानको सिग्नल हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीय पार्टमा धुँवा फेला परेको एभिएसन हेराल्ड नामक विमान उद्योगको वेभसाइटले उल्लेख गरेको हो । तर यस भनाइको अहिलेसम्म कुनै आधिकारिक पुष्ट्याई नभएको बीबीसीले जनाएको छ । विमानको सञ्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट प्राप्त डाटाको हवाला दिँदै उक्त वेभसाइटले यस्तो दावी गरेको हो ।
विमानको भग्नावशेष भने भूमध्य सागरमा फेला परेको छ । अलेक्जेन्ड्रियाबाट २९० किलोमिटर टाढा विमानको भग्नावशेष र यात्रुका सामान फेला परेको इजिप्टको सेना र राष्ट्रिय विमान सेवाले जनाएको हो । ६६ जना यात्रु बोकेर फ्रान्सको पेरिसबाट ईजिप्टको कायरोका लागि उडेको विमान विहीवारदेखि वेपत्ता थियो । कारापाथोस टापुनजिक ग्रीक, इजिप्ट, फ्रान्स र बेलायतका सेनाले विमानको खोजेका थिए । विमान राडारबाट सम्पर्कविहीन हुनुअघि २५ हजार फिटभन्दा माथिबाट खसेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु