संघीय गठबन्धन थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौ, ५ जेठ । संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको गठबन्धनले भावी आन्दोलनका कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाएको छ । गठबन्धनको बैठक काठमाडौको तीनकुनेमा बस्न लागेको गठबन्धनको घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
२९ दलीय संघीय गठबन्धनको मूल समिति बैठकमा तीन दिने आन्दोलनको समीक्षा पनि हुने कर्णले बताए । संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने गठबन्धन बैठकले आन्दोलनका थप कार्यक्रम ल्याउने बारेमा निर्णय गर्ने जनाइएको छ ।
राजधानी केन्द्रित आन्दोलन गर्ने वा जिल्ला केन्द्रित गर्ने भन्ने बारेमा गठबन्धनका घटकबीच कुरा मिल्न सकेको छैन । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार र शक्ति केन्द्र बालुवाटार घेराउ गरेको गठबन्धनले आज दिउँसो रत्नपार्कमा कार्यक्रम गर्ने भएको छ ।
शान्तिबाटिकामा हुने सभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनले हिजो बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ गरेको थियो ।

प्रतिक्रियाहरु