बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सुरू

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौ, २ जेठ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागको रोहबरमा आजदेखि भत्काउन सुरु गरिएको छ । ‘गोरखा भूकम्प’का कारण क्षति भएको उक्त मन्दिर लगायत सम्पूर्ण रानीपोखरीको पुनःनिर्माण गर्न लागिएको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए। बीच भागमा रहेको बालगोपालेश्वर मन्दि हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्दै आएको छ ।
‘आज पहिलो दिन मन्दिरको गजुर निकाल्ने काम भइरहेको छ । केही समयदेखि भत्काउने काम सुरु गर्ने भनिए पनि विभिन्न किसिमका आन्तरिक कारणले गर्दा काम गर्न ढिला भएको हो’, कँडेलले जानकारी दिए। मन्दिरमा रहेका सबै देवताका मूर्ति भने केही समयअघि नै निकालिसकिएको छ ।
पुनःनिर्माणका लागि पोखरीको पानी फाल्ने काम सुरु भइसकेको छ उक्त पोखरीमा रहेका माछा भने बालाजु बाइसधारामा लगिएको छ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने जनाइएको छ । झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गर्ने, बोटबिरुवा रोप्ने तथा हरियाली बनाइने बताइएको छ । पोखरीको पुनःनिर्माणको काम छ महिनामा सक्ने योजना रहेको बताइएको छ ।
ऐतिहासिक महत्व बोकेको उक्त पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको इतिहास छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुको सेतो मूर्ति छ । पोखरीकै चार कुनामा मन्दिर छन् ।
विष्णुतीर्थ पनि भनिने रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु